विराटनगर । विराटनगरमा मध्यराति चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको भाग्ने क्रममा तीन तलाबाट खसेर मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५ देखि ४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्ति छिमेकीको घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका थिए। उनी घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएर होहल्ला गरेका थिए।होहल्लापछि छरछिमेकीसमेत जम्मा हुन थालेपछि पक्राउ पर्ने डरले भाग्ने क्रममा उनले तीन तलामाथिबाट हाम्फालेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
गम्भीर घाइते भएका उनको आइतबार बिहान १२ः२० बजेतिर घटनास्थलमै मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। उनको साथबाट पहिचान खुल्ने कुनै कागजातसमेत फेला नपरेको प्रहरीले जनाएको छ।
डीएसपी श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई करिब बिहान २ बजे पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। प्रहरीले मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।






































