रसुवा । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

बाढी र पहिरोको जोखिम बढेपछि सुरक्षा निकाय तथा स्थानीय प्रशासनले नदी किनारमा बसोबास गर्ने सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न र विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

यता, पहिरोका कारण नारायणगढ–मुग्लिङ हुँदै पोखरा तथा काठमाडौं जाने–आउने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोकिएको चितवन प्रहरीले जनाएको छ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

यसअघि चीन–नेपाल सीमाक्षेत्र नजिकै हिमनदी खसेपछि ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

पुरानो विपद्को क्षति र जोखिम पूर्ण रूपमा व्यवस्थापन हुन नपाउँदै पुनः बाढी र पहिरोको जोखिम बढेपछि तटीय बस्तीमा त्रास फैलिएको छ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न, सुरक्षित स्थानमा सर्न तथा सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।