काठमाडौं  \  बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारका लागि चीनले उच्च दक्ष प्राविधिक टोली परिचालन गरेको छ।

नेपाल सरकारको अनुमतिमा ६ सदस्यीय चिनियाँ विज्ञ टोली उद्धार कार्यमा प्रत्यक्ष रूपमा खटिएको हो। प्राविधिक रूपमा अत्यन्त जोखिमपूर्ण र जटिल मानिएको सुरुङ उद्धारलाई प्रभावकारी बनाउन चीनबाट विशेषज्ञ टोली घटनास्थलमा पुगेको सरकारले जनाएको छ।

चिनियाँ हेलिकोप्टरमार्फत टोली सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको हो। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय गर्दै संयुक्त रूपमा उद्धार अभियान अघि बढाउने बताइएको छ।

पहिलो चरणमा सुरुङभित्र प्राविधिक अध्ययन

उद्धार टोलीले पहिलो चरणमा सुरुङभित्रको वास्तविक अवस्था, पानीको स्तर, संरचनाको जोखिम तथा उद्धारका लागि उपलब्ध सम्भावित मार्गहरूको प्राविधिक अनुगमन र मूल्यांकन गर्नेछ।

प्रारम्भिक अध्ययनपछि सुरुङभित्र प्रवेश गरी उद्धार गर्न सम्भव देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञहरूलाई तत्काल घटनास्थलमा परिचालन गर्ने तयारी गरिएको छ।

उद्धार अभियानमा नेपाल–चीन संयुक्त प्रयास

सुरुङभित्रको अवस्था चुनौतीपूर्ण र जोखिमपूर्ण रहे पनि फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न नेपाल सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक टोलीबीच समन्वय भइरहेको छ।

सरकारले उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध सबै प्राविधिक तथा मानवीय स्रोत परिचालन गरेर श्रमिकहरूको जीवनरक्षा गर्ने प्रयास भइरहेको जनाएको छ।

अब चिनियाँ विज्ञ टोलीको प्राविधिक मूल्यांकनपछि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि थप टोली र उपकरण परिचालन गर्ने वा तत्काल उद्धार अपरेसन अघि बढाउने विषय टुंगो लाग्नेछ।

सुरुङभित्र फसेका श्रमिकहरूको अवस्था र उद्धार अभियानबारे थप विवरण प्राविधिक टोलीको प्रारम्भिक मूल्यांकनपछि सार्वजनिक गरिने अपेक्षा गरिएको