काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधन र पूर्वाधारको क्षतिप्रति चीनले सहयोग बढाउने तयारी गरेको छ।

चिनियाँ पक्षले आपत्कालीन राहत सामग्री बोकेका दुईवटा कार्गो विमान नेपाल पठाउने तयारी गरेको जनाएको छ। प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउने चीनको तयारी छ।

त्यसैगरी, चीनले नेपाल सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने तयारी गरेको बताइएको छ। उक्त रकम बाढी–पहिरो प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा आपत्कालीन व्यवस्थापनमा प्रयोग गरिने अपेक्षा गरिएको छ।

बाढीका कारण सडक, पुल, जलविद्युत आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेपछि चीनले सुरुङ तथा जटिल उद्धार कार्यमा विशेषज्ञता भएका दुई टोली समेत नेपाल पठाउने तयारी गरेको बताइएको छ।

 संकटमा चीनको सहयोग प्याकेज

 २ कार्गो विमान — आपत्कालीन राहत सामग्रीसहित

 २० लाख अमेरिकी डलर — नगद सहायता

 २ विशेषज्ञ टोली — जटिल उद्धार तथा सुरुङसम्बन्धी प्राविधिक सहयोग

पूर्वाधार पुनर्स्थापनामा प्राविधिक सहयोग — सडक, पुल तथा अन्य संरचनामा सहयोग नेपाल विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला राहत सामग्री, नगद सहायता र विशेषज्ञ टोलीसहित चीनको सहयोग आउन लागेको हो।

यस्तो सहयोगले प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तीव्रता दिनुका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।