काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत पर्ने गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको जनाइएको छ।
क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार गत बुधबार बिहान नेपालतर्फबाट सुरु भएको पहिरो केरुङ पोर्टसम्म पुगेपछि ठूलो क्षति भएको हो। पहिरोले नाका क्षेत्रमा रहेका संरचना तथा आवागमनमा समेत गम्भीर असर पुर्याएको बताइएको छ।
शुक्रबार अपराह्न ३ बजेसम्म प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव उद्धारकर्मीले फेला पारेका छन्। तर, ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू पुगिसकेका छन्। बेपत्ताहरूको खोजी तथा प्रभावितको उद्धार र राहतका लागि सुरक्षाकर्मी तथा विभिन्न उद्धार टोलीलाई थप परिचालन गरिएको छ।
हवाई माध्यमबाट प्राप्त दृश्यमा प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई व्यापक रूपमा अघि बढाइएको देखिएको छ। कठिन भौगोलिक अवस्था र पहिरोको जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
बेपत्ताको खोजी कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण तथा क्षतिको पूर्ण तथ्यांक आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्।






































