काठमाडौं । भोटेकोशी बाढीले ठूलो संख्यामा पुल भत्काएपछि सडक सम्पर्क पुनःस्थापित गर्न नेपालले भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको छ । पक्की पुल निर्माण गर्न लामो समय लाग्ने भएकाले तत्कालका लागि अस्थायी पुल जडान गर्न सरकारले छिमेकी मुलुकसँग सहयोग मागेको हो ।
भदौ १० गते आएको अचानकको बाढीले रसुवा, नुवाकोट र धादिङमा ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । पुल बगेसँगै विभिन्न स्थानको सडक सम्पर्क टुटेपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा आवश्यक सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ ।
यही अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयमार्फत भारत र चीनसँग ४२ वटा बेलिब्रिज उपलब्ध गराउन आग्रह गरिएको हो । तत्काल आवश्यक पर्ने संख्यामा बेलिब्रिज उपलब्ध गराउन दुवै छिमेकीसँग अनुरोध गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
पक्की पुल पुनर्निर्माण गर्न समय लाग्ने भएकाले अहिलेको प्राथमिकता अस्थायी रूपमा सडक सम्पर्क जोड्नु रहेको सरकारी अधिकारीहरूको भनाइ छ । बेलिब्रिज जडान भएपछि बाढीले काटेका सडकखण्डमा यातायात सञ्चालन सहज हुने र राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालले बेलिब्रिजसँगै शव व्यवस्थापनका लागि एक हजारभन्दा बढी ‘बडी ब्याग’ समेत माग गरेको छ । बाढीका कारण ठूलो मानवीय क्षति भएपछि नदी तथा तटीय क्षेत्रमा फेला परेका शव सुरक्षित रूपमा व्यवस्थापन गर्न आवश्यक सामग्रीको अभाव हुन नदिन सरकारले यस्तो सहयोग मागेको हो ।
बाढीले सडक र पुल मात्र होइन, उद्धार तथा शव व्यवस्थापनको प्रणालीमै थप दबाब सिर्जना गरेको छ । त्यसैले सरकारले एकातिर सडक सम्पर्क तत्काल जोड्न बेलिब्रिज मागेको छ भने अर्कोतर्फ शव व्यवस्थापनका लागि आवश्यक सामग्री जुटाउन थालेको छ ।
भोटेकोशी बाढीपछि क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना र प्रभावित क्षेत्रमा राहत पुर्याउने काम तत्काल अघि बढाउनुपर्ने अवस्थामा नेपालले भारत र चीनबाट प्राविधिक तथा सामग्रीगत सहयोग खोजेको हो ।






































