काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन विभिन्न अस्पताल पुगिरहेका हुन् । तर, धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे अझै कुनै जानकारी पाउन सकेका छैनन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा पनि सम्पर्कविहीन आफन्तको खोजीमा पुगेका परिवारजनको भीड देखिन्छ । अस्पतालले सार्वजनिक गरेको घाइते तथा उद्धार गरिएका व्यक्तिको नामावलीमा आफन्तको नाम खोज्दै उनीहरू झिनो आशामा बसिरहेका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी–२ का ३२ वर्षीय श्याम लामिछाने रसुवामा ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका थिए । गत भदौ १० गते बिहान बहिनीलाई फोन गरेपछि उनको मोबाइल बन्द भएको र त्यसयता सम्पर्क हुन नसकेको उनकी दिदी दुर्गा लामिछानेले बताइन् ।
‘भाइको नाम श्याम लामिछाने, ३२ वर्ष । अहिले ट्रेकिङ गाइडको लागि रसुवा गएको तीन महिना भयो । अस्ति १० गते बिहान ८ बजेर ३८ मिनेटमा बहिनीलाई फोन गर्नुभएको रहेछ । बहिनीले फोन उठाउन पाएनछ । ५–६ मिनेटपछि फोन गर्दा मोबाइल अफ आयो । त्यसपछि अहिलेसम्म सम्पर्कमा आएको छैन,’ उनले भनिन् ।
श्यामसँगै काम गर्ने अन्य व्यक्तिहरू पनि सम्पर्कमा नआएको दुर्गाले बताइन् । परिवारले ट्रमा सेन्टर, वीर अस्पताललगायत विभिन्न अस्पतालमा खोजी गरिसकेको भएपनि अहिलेसम्म कुनै जानकारी पाउन सकेको छैन ।‘भर्खरै हामी ट्रमा र वीर अस्पताल पनि गयौँ । त्यहाँ पनि नाम छैन । यहाँ पनि हेरिसक्यौँ, यहाँ पनि छैन । अहिलेसम्म केही पत्ता लागेको छैन । उद्धार गर्नेहरूमा पनि हेरिरहेका छौँ । आफूले बुझेजति, जानेजति ठाउँमा खोजिरहेका छौँ, सम्पर्क गरिरहेका छौँ,’ उनले भनिन् ।
आफ्नो भाइको अवस्था थाहा पाउन नसकेपछि दुर्गाले सबैसँग खोजीमा सहयोग गरिदिन अपिल गरेकी छन् ।‘कहीँ कतै देख्नु–भेट्नुभयो भने सम्पर्क गरेर भनिदिनुहोला । सास वा लास भए पनि भेटाउनुभयो भने फोन गरेर भनिदिनुहोला । बुढाबुढी बा–आमा हुनुहुन्छ, साना दुईवटा बच्चाहरू छन् । कसैले देख्नु–भेट्नुभयो भने सम्पर्क गरिदिनुहोला, खोजिदिनुहोला,’ उनले भनिन् ।
यस्तै, रसुवाको अपर हाइड्रोपावरमा कार्यरत गुञ्जबहादुर श्रेष्ठ पनि बाढीपछि सम्पर्कविहीन छन् । ड्युटीमा जानुअघि श्रीमतीसँग कुराकानी गरेपछि उनी सम्पर्कमा नआएको उनकी भाउजू पार्वती श्रेष्ठले बताइन् ।उनले भनिन्, ‘ड्युटी जानुभन्दा अगाडि उहाँको मिसेससँग कुरा भएको रहेछ । त्यसपछि चाहिँ सम्पर्कविहीन नै हुनुभयो । हामीले कति खोजिसक्यौँ, कहीँ पनि नाम छैन । सुरक्षा निकायसँग कुरा गर्दा उद्धार गरिरहेका छौँ भनेर मात्रै भन्नुहुन्छ ।’
गुञ्जबहादुरसँगै काम गर्ने केही साथीहरू भने सम्पर्कमा आएको पार्वतीले बताइन् ।‘साथीहरू त प्रायः आउनुभइसकेको छ । कोही चाहिँ भाग्ने क्रममा सँगसँगै आएको भन्ने कुरा छ । तर सबैको नाम ठ्याक्कै थाहा छैन,’ उनले भनिन् । अस्पतालको प्राङ्गणमा भेटिएकी आस्था मगर पनि आफ्ना अंकल र भिनाजुको खोजीमा थिइन् । उनका अनुसार मिना आले मगर र नवराज मगर रसुवागढी हाइड्रोपावरमा काम गर्दै आएका थिए । उनीहरू टिमुरेबाट घट्टेखोलातर्फ रहेको र बाढीपछि सम्पर्कविहीन भएको आस्थाले बताइन् ।
अन्तिम पटक भिनाजु नवराजले दिदीलाई फोन गरेको र त्यसपछि दुवै जनाको कुनै जानकारी नआएको आस्थाले बताइन् ।‘लास्ट टाइम मंगलबार साढे ७ बजे दिदीलाई कल आएको थियो रे । त्यसपछि उहाँहरूको केही पनि कन्ट्याक्ट छैन । लास्ट लोकेसन पनि अहिलेसम्म थाहा छैन । अस्पतालमा आएर नेमलिस्ट र फोटोहरू हेर्न भनिएको छ । तर उहाँहरूको नाम अहिलेसम्म लिस्टमा छैन,’ उनले भनिन् । रसुवाको टिमुरेबाटै २१ वर्षीय वीरबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन छन् । गाडी चालकका रूपमा काम गर्ने वीरबहादुर बाढी आउनुअघि चीनतर्फ जाने यात्रुलाई लिएर टिमुरे पुगेका थिए ।
उनकी आमाका अनुसार भदौ १० गते बिहान साढे ८ बजेसम्म दिदीसँग फोन सम्पर्कमा रहेका वीरबहादुर त्यसपछि सम्पर्कविहीन भएका हुन् ।‘मेरो छोरा वीरबहादुर श्रेष्ठ हो । २१ वर्षको भयो । गाडी लाइनमा काम गर्दथ्यो । त्यो दिन चीन जाने मान्छेलाई गाडी लिएर गएको रहेछ । पुलमा पुगेँ भनेर दिदीलाई फोन गरेको रे । त्यसपछि त्यहाँबाट सम्पर्क हुन सकेन,’ उनले भनिन् । परिवारले काठमाडौंका विभिन्न अस्पतालमा खोजी गरे पनि अहिलेसम्म वीरबहादुरको नाम घाइते तथा उद्धार गरिएका व्यक्तिको सूचीमा फेला परेको छैन ।यसैबीच, रसुवा, नुवाकोट, गोरखा तथा धादिङमा भदौ १० गते आएको भीषण बाढीपहिरोमा परी घाइते भएका ४८ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ भने २१ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन् ।हाल अस्पतालमा उपचाररत घाइतेमध्ये पेमा तामाङ र राजेन्द्र भट्टको अवस्था गम्भीर छ । उनीहरूलाई भेन्टिलेटरसहित आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।यस्तै अशोक श्रेष्ठ, बालबहादुर घर्ती, मिनबहादुर श्रेष्ठ, पवित्रा कार्की र महेश्वर शाहको पनि आईसीयूमा उपचार भइरहेको छ ।अन्य घाइतेहरूको अवस्था हेरी अर्थोपेडिक, पेडियाट्रिक सर्जरी, अब्जर्भेसन तथा आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
तर, अस्पतालको सूचीमा नाम नभेटिएका आफ्ना आफन्तको खोजीमा रहेका परिवारजनका लागि भने प्रत्येक अस्पतालको ढोका र प्रत्येक नामावली आशाको अन्तिम आधार बनेको छ ।भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजी जारी रहँदा परिवारजनको एउटै प्रश्न छ– ‘हाम्रा आफन्त कहाँ छन् रु’






































