काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर ल्याएका शव त्रिशूली नदीको तटीय क्षेत्रमा भेटिने क्रम रोकिएको छैन । गोरखाको सिम क्षेत्रमा मात्रै हालसम्म ४७ वटा शव फेला परेका छन् । तर तीमध्ये अधिकांश शव सग्लो अवस्थामा नहुँदा पहिचानमा ठूलो चुनौती देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार नदी किनारमा भेटिएका ४७ शवमध्ये २० वटा मात्रै अनुहार पहिचान गर्न सकिने अवस्थामा छन् । बाँकी शवका अधिकांश भाग टुक्रिएको अवस्थामा फेला परेका छन् ।
पहिचान गर्न सकिने अवस्थाका ११ शवलाई प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । ती शवको सनाखत र पोस्टमार्टम गरिनेछ । बाँकी शव भने गोरखामै राखिएको छ ।प्रहरीका अनुसार टुक्रिएका शवको पहिचानका लागि शरीरमा रहेका विशेष संकेत महत्वपूर्ण हुनेछन् । ट्याटु, कपडा वा अन्य चिन्हबाट पहिचान खुल्न सक्ने सम्भावना छ ।
तर कुनै पनि पहिचानयोग्य संकेत नभएका मानव अंगको पहिचान भने थप जटिल हुने प्रहरीले जनाएको छ । त्यस्ता अवस्थामा डीएनए परीक्षणमार्फत मृतकको पहिचान गर्नुपर्ने हुन्छ ।भोटेकोशीबाट बगेका शव त्रिशूली नदीको बहावसँगै गोरखासम्म आइपुगेका हुन् । बाढीपछि नदी किनारमा लगातार शव तथा मानव अंग भेटिन थालेपछि सुरक्षाकर्मीले खोजी तथा संकलन अभियानलाई तीव्र बनाएका छन् ।
एकातिर बेपत्ता व्यक्तिको खोजी जारी छ भने अर्कोतर्फ फेला परेका शवको पहिचान गरी परिवारसम्म खबर पुर्याउने चुनौती थपिएको छ । विशेषगरी सग्लो अवस्थामा नरहेका शवका कारण आफन्तले आफ्ना परिवारका सदस्यको अवस्था यकिन गर्न कठिन भइरहेको छ ।
प्रहरीले फेला परेका शव तथा मानव अंग सुरक्षित रूपमा संकलन गर्दै पहिचानको प्रक्रिया अघि बढाइरहेको जनाएको छ । पहिचान नखुलेका शवको विवरण संकलन गरी आवश्यक परे डीएनए परीक्षणबाट सनाखत गर्ने तयारी गरिएको छ ।भोटेकोशी बाढीपछि त्रिशूली नदीको तटीय क्षेत्रमा देखिएको यो अवस्थाले विपत्तिको मानवीय क्षति कति भयावह छ भन्ने देखाएको छ ।






































