काठमाडौं । भीषण बाढीले सडक र पुलमा ठूलो क्षति पुर्याएपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवा फेरि सडकमार्फत जोडिएको छ । बाढीले मुख्य सडकका पुलहरू बगाएपछि सरकारले वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको हो ।भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खोलिएको छ ।
बाढीपछि रसुवाभित्र मितेरीपुल यता मात्रै १३ वटा पुल पूर्ण रूपमा बगेका थिए । त्यस्तै नुवाकोट–रसुवा सीमाका थप दुई पुलसमेत बगाउँदा रसुवा सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो । मुख्य सडक संरचना क्षतिग्रस्त भएपछि तत्कालका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो । यसले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन, उद्धार कार्यलाई निरन्तरता दिन तथा स्थानीयवासीको आवतजावत सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यद्यपि वैकल्पिक मार्गमा अहिले चार चक्के साना सवारीसाधन मात्र सञ्चालन गर्न सकिने अवस्था छ । सडक पूर्ण रूपमा पुनःस्थापना गर्न क्षतिग्रस्त पुल तथा सडक संरचनाको पुनर्निर्माण आवश्यक हुनेछ । बाढीले सडक पूर्वाधारमा व्यापक क्षति पुर्याएपछि रसुवालाई पुनः सहज यातायात सञ्जालमा जोड्नु सरकारका लागि तत्कालको चुनौती बनेको छ । वैकल्पिक रुट खुलेसँगै भने प्रभावित जिल्लासम्म राहत, उद्धार र आवश्यक सामग्री पुर्याउने बाटो केही सहज भएको छ ।






































