काठमाडौं । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले आह्वान गरेको राहत अभियानमा सहयोगको ओइरो लागेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामै १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन् ।
भोटेकोशीमा भीषण बाढी आएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसलगत्तै उद्धार तथा राहतका लागि सहयोग जुट्न थालेको हो । सरकारले कोषमा रकम संकलन र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ । पछिल्लो सहयोगपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात थियो ।
सहयोग जुटाउने अभियानमा निजी क्षेत्रको सहभागिता पनि तीव्र देखिएको छ । बिहीबार मात्रै ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।संस्थागत रूपमा एक करोड रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन् । व्यक्तिगत रूपमा नगद सहयोग गर्न चाहनेका लागि मन्त्रालयमै आएर रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।
महत्वपूर्ण कुरा के छ भने पछिल्लो ३६ घण्टामा संकलित रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश छैन । यसले राहत कोषमा आगामी दिनमा थप रकम जम्मा हुने सम्भावना देखाएको छ ।भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाका लागि ठूलो स्रोत आवश्यक परिरहेका बेला छोटो अवधिमै झन्डै दुई अर्ब रुपैयाँ जुट्नु विपद्मा राज्यसँगै निजी क्षेत्र र सर्वसाधारणको आर्थिक सहभागिता बढेको संकेतका रूपमा देखिएको छ ।






































