सुर्खेत । रोजगारीको खोजीमा कर्णालीबाट रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा पुगेका १३४ जना भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएसँगै कर्णालीका १० जिल्लाबाट रोजगारीका लागि ती क्षेत्रमा पुगेका नागरिकको अवस्थाबारे परिवारमा चिन्ता बढेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका १० वटै जिल्लाका नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रहरीका अनुसार अहिले प्राप्त भएको संख्या अन्तिम भने होइन। विभिन्न जिल्ला र स्थानीय तहबाट विवरण आउने क्रम जारी रहेकाले सम्पर्कविहीन नागरिकको संख्या थप बढ्न सक्ने सम्भावना छ।

कर्णालीका धेरै नागरिक रोजगारीका लागि देशका विभिन्न जिल्लामा जाने गरेका छन्। रसुवा, नुवाकोट र त्रिशूली क्षेत्र पनि रोजगारीका लागि कर्णालीबाट पुगेका नागरिकको प्रमुख गन्तव्यका रूपमा रहेका कारण बाढीपछि एकैपटक ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएको हो।

भोटेकोशी तथा आसपासका नदीमा आएको अचानकको बाढीले सडक, पुल र सञ्चार संरचनामा क्षति पु¥याएपछि प्रभावित क्षेत्रमा रहेका नागरिकसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। यही कारण परिवारले फोन गर्दा सम्पर्क हुन नसकेको तथा उनीहरू सुरक्षित स्थानमा छन् वा बाढीको चपेटामा परे भन्ने यकिन गर्नसमेत समस्या भएको छ।

सुर्खेतदेखि जुम्ला, कालिकोट, दैलेख, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान र अन्य जिल्लाका परिवार अहिले आफन्तको खबरको प्रतीक्षामा छन्। रोजगारीका लागि घरबाट टाढा पुगेका आफन्तसँग सम्पर्क नहुँदा गाउँघरमा समेत त्रास र बेचैनी बढेको छ।

प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रशासनबाट प्राप्त विवरणलाई एकीकृत गर्दै सम्पर्कविहीन नागरिकको वास्तविक अवस्था पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियान जारी रहेकाले सम्पर्कविहीन नागरिकको अवस्था क्रमशः स्पष्ट हुने अपेक्षा गरिएको छ।

यसअघि भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीमा परी ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने सयौँ मानिस अझै सम्पर्कविहीन छन्। नदीको बहावसँगै बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत फैलिएको छ।

कर्णालीबाट रोजगारीका लागि बाहिरिएका १३४ नागरिक एकैपटक सम्पर्कविहीन हुनु विपद्को अर्को गम्भीर मानवीय पाटो बनेको छ। अहिले उनीहरूका परिवारको एउटै प्रतीक्षा छ—सम्पर्कविहीन आफन्तबारे कुनै खबर आओस्, उद्धार टोली उनीहरूसम्म पुग्न सकोस् र उनीहरू सकुशल घर फर्किऊन्।