काठमाडौं / नेकपा एमालेका नेता तथा सांसद क्षितिज थेबेले बाढी–पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाको काम नसकिएसम्म क्याम्प खडा गरेर बस्ने बताएका छन् । 

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले राष्ट्रिय युवा संघ नेपाल विपद्का बेला सँधै अग्रभागमा रहेर काम गर्दै आएको भन्दै यसपटक पनि सिङ्गो टिम फिल्डमा परिचालन भएको बताए । 

‘राष्ट्रिय युवा संघ नेपालले इतिहासदेखि आजसम्म जहिले पनि विपद्मा एक कदम अगाडि छ र सँधै पनि अग्रभागमा छ । आज पनि हामी फिल्डमा छौँ । राष्ट्रिय युवा संघ नेपालको सिङ्गो टिम नै हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘यो उद्धार, राहत र पुनःस्थापना नसकिन्जेलसम्म क्याम्प खडा गरेर रसुवा, नुवाकोट र धादिङमा बस्छौँ ।’

उनले राहत तथा उद्धारलाई राजनीतिक प्रचारको माध्यम नबनाउने पनि बताए । ‘हामी कुनै पार्टीको लोगो लाएर देखाउन, प्रचार, फन्डा गर्नको लागि कहिले पनि राष्ट्रिय युवा संघ नेपाल अगाडि बढ्दैन,’ उनले भने, ‘जनताको विपद्मा जहिले पनि साथ दिन्छ ।’

थेबेले बाढी प्रभावित क्षेत्रमा अवस्था आफूले सोचेको र देखेको भन्दा पनि भयावह रहेको बताए । विपद्को समयमा पीडितलाई राहत सामग्रीसँगै आत्मबल र मनोबल बढाउने काम पनि आवश्यक रहेको उनको भनाइ छ । उनले उद्धार तथा राहतमा खटिएका स्वयंसेवकको मनोबल बढाउने र पीडितलाई विपद्बाट माथि उठ्न सहयोग गर्ने उद्देश्यले आफूहरू प्रत्यक्ष रूपमा फिल्डमा आएको बताए ।

थेबेले विपद् व्यवस्थापनमा पूर्वतयारी र जोखिम न्यूनीकरणलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले क्लाउडब्रस्ट, हिमताल विस्फोट तथा हिमताल फुट्ने जस्ता घटनाको जोखिमबारे यसअघि नै पटक–पटक कुरा उठाइएको बताए । यस्ता विपद् दोहोरिन नदिन पूर्वतयारी तथा जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । पछिल्लो दशकमा आफ्नो पुस्ताले देखेको यो सबैभन्दा ठूलो विपद् भएको उनले बताए ।

यस्तै, नुवाकोटका एक स्थानीयले बाढीका कारण आफ्नो घरसहित सम्पत्ति क्षति भएको र अहिले जाने ठाउँसमेत नरहेको गुनासो गरे । उनले विपद् प्रभावितलाई सरकारले दिने राहत पर्याप्त नभएको भन्दै प्रभावकारी राहत र सरकारी उपस्थितिको माग गरे । भूकम्पका बेला पनि आफूले राहतको विषय उठाएको स्मरण गर्दै उनले पीडितलाई दीर्घकालीन सहयोग आवश्यक रहेको बताए ।

उनले सरकारको उपस्थिति अझै प्रभावकारी र बाक्लो हुनुपर्ने बताए । प्रधानमन्त्रीले राहत आउने विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएको उल्लेख गर्दै उनले सरकारबाट तत्काल प्रभावकारी राहतको अपेक्षा रहेको बताए । बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम अझै चुनौतीपूर्ण रहेको भन्दै स्थानीयले तत्काल राहत तथा सरकारी संयन्त्रको प्रभावकारी परिचालनको माग गरेका छन् ।