काठमाडौं / भोटेकोशीमा आएको भीषण बाढीले रसुवाको यातायात पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
सडक विभागका अनुसार १९ वटा पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएपछि रसुवाको उत्तरी क्षेत्रसँगको सडक सम्पर्क पूर्णरूपमा अवरुद्ध भएको छ। बाढीले बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा सबैभन्दा ठूलो क्षति पुर्याएको छ। नेपाल–चीन व्यापारको मुख्य मार्गसमेत रहेको यो सडक अवरुद्ध भएपछि रसुवागढी नाकाबाट हुने आवतजावत र व्यापारिक गतिविधिसमेत प्रभावित भएका छन्। सडक विभागका अनुसार कतिपय स्थानमा सडकको सतह मात्र नभई सडकको आधार नै भोटेकोशीको भेलले बगाएको छ।
पुलहरूमा समेत पूर्ण तथा आंशिक क्षति पुगेको छ। त्यसैले सामान्य मर्मत गरेर तत्काल यातायात सञ्चालन गर्ने अवस्था नरहेको प्राविधिक टोलीको प्रारम्भिक आकलन छ। पुल बगे, सडक काटिएपछि उद्धारमा समस्या सडक र पुल क्षतिग्रस्त भएपछि बाढी प्रभावित माथिल्लो रसुवामा राहत तथा उद्धार सामग्री पुर्याउनसमेत कठिन भएको छ। स्थलमार्ग अवरुद्ध हुँदा कतिपय क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार तथा राहत पुर्याउनुपर्ने अवस्था आएको छ।
यससँगै बाढीले सञ्चार पूर्वाधारमा समेत क्षति पुर्याएको छ। टेलिफोन टावर तथा अप्टिकल फाइबरमा समस्या आएपछि प्रभावित क्षेत्रसँग नियमित सम्पर्क कायम गर्न कठिनाइ भएको छ। सञ्चार र सडक दुवै अवरुद्ध हुँदा कुन बस्तीमा कति क्षति भयो, कति मानिस सुरक्षित छन् र कहाँ तत्काल उद्धार आवश्यक छ भन्ने विवरण संकलनमै चुनौती देखिएको छ। विद्युत् आयोजनामा पनि ठूलो असर भोटेकोशीको बाढीले सडक र पुलसँगै रसुवाका जलविद्युत् आयोजनाका संरचनामा पनि क्षति पुर्याएको छ।
विभिन्न आयोजना प्रभावित हुँदा विद्युत् उत्पादनसमेत अवरुद्ध भएको छ। यसले बाढीको क्षति केवल स्थानीय पूर्वाधारमा सीमित नभई राष्ट्रिय ऊर्जा प्रणाली र रणनीतिक सडक सञ्जालसम्म पुगेको देखाएको छ। चीनसँगको व्यापारिक सम्पर्कसमेत जोखिममा रसुवागढी नाका नेपाल–चीन व्यापारको महत्वपूर्ण प्रवेशद्वार हो। यही नाका जोड्ने सडक र पुलमा ठूलो क्षति पुगेपछि अब तत्कालको चुनौती उद्धार र राहतसँगै सीमावर्ती व्यापारिक सम्पर्क पुनःस्थापित गर्नु बनेको छ।
तर त्यसका लागि पहिले सडक र पुलको अस्थायी पहुँच बनाउनुपर्नेछ। सडक विभागले क्षतिग्रस्त क्षेत्रमा प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरेर बाटो खुलाउने प्रयास थालेको छ। तर बाढीले कतिपय स्थानमा सडकको जगै बगाएकाले पूर्ण रूपमा यातायात सञ्चालन गर्न समय लाग्ने देखिएको छ।
अब प्रश्न पुनर्निर्माणको
भोटेकोशीको बाढीले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ— १९ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त हुने गरी पूर्वाधार किन यति कमजोर रह्यो ? अब तत्काल सडक खुलाउनु आवश्यक छ। तर त्यसभन्दा महत्वपूर्ण प्रश्न हो— फेरि त्यही ठाउँमा उही जोखिम बोकेको संरचना बनाउने कि भविष्यको बाढीसमेत थेग्ने गरी नयाँ पूर्वाधार निर्माण गर्ने ?
भोटेकोशीले सडक र पुल मात्र बगाएको छैन। यसले रसुवागढी नाकादेखि उत्तरी बस्ती, जलविद्युत् आयोजना र राज्यको आपत्कालीन पहुँचसम्म जोडिएको पूर्वाधारको कमजोरी उजागर गरिदिएको छ। अब क्षतिको गणना सकिएसँगै पुनर्निर्माणको लागत, समय र जिम्मेवारीको हिसाब समेत सार्वजनिक गर्नुपर्ने चुनौती सरकारसामु छ।






































