चितवन ।भोटेकोशीमा आएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा फैलिँदै गएपछि चितवन प्रशासनले जोखिममा रहेका बस्ती खाली गराउन थालेको छ। त्रिशूली र नारायणी नदीको बहाव बढ्ने क्रममा रहेकाले सम्भावित क्षति रोक्न सुरक्षा संयन्त्रलाई ‘हाई अलर्ट’मा राखिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार माथिल्लो तटीय क्षेत्रमा भएको क्षतिको अवस्थालाई हेरेर चितवनमा समेत ठूलो जोखिम हुनसक्ने आकलन गरिएको छ। त्यसैअनुसार नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु गरिएको छ।
प्रशासनले स्थानीय तहसँग समन्वय गरी माइकिङमार्फत जोखिमबारे सूचना प्रवाह गरिरहेको छ। फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी किनारलाई विशेष निगरानीमा राखिएको छ।मुग्लिन बजार, नारायणगढको नारायणी किनार, भरतपुर–१६ तथा पश्चिम चितवनका तल्लो भूभागलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ। सम्भावित बाढीको बहाव बढ्नसक्ने भएकाले सुरक्षा निकायका टोलीहरू फिल्डमै परिचालित छन्।
प्रशासनले अहिलेको प्राथमिकता मानवीय क्षति रोक्नु र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा पु¥याउनु रहेको जनाएको छ। नदी किनारमा नजान तथा प्रशासनले दिएको सूचनाको पालना गर्न स्थानीयलाई आग्रह गरिएको छ।




































