धादिङ । रसुवाबाट आएको बाढीको बहाव बढ्दै गएपछि धादिङ प्रशासन उच्च सतर्कतासहित ‘रेस्क्यु मोड’मा पुगेको छ। त्रिशूली नदी तथा अन्य खोला किनारका जोखिमयुक्त बस्तीलाई धमाधम सुरक्षित स्थानमा सार्न थालिएको छ। बाढीको बहाव गल्छी क्षेत्रसम्म आइपुग्दा एउटा झोलुङ्गे पुल बगाइसकेको छ। थप जोखिम बढ्न सक्ने भन्दै प्रशासनले विशेषगरी गल्छी र मलेखु क्षेत्रका तटीय बस्तीलाई प्राथमिकतामा राखेर स्थानान्तरण गरिरहेको छ।
मानवीय क्षति हुन नदिन सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीलाई फिल्डमै परिचालन गरिएको छ। स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा लैजाने काम तीव्र पारिएको छ।बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा गुडिरहेका सवारीसाधनसमेत सुरक्षित स्थानमा होल्ड गरिएको छ। जोखिमयुक्त क्षेत्रमा सवारीसाधनको आवतजावत रोक्दै सम्भावित दुर्घटना टार्ने प्रयास गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार अहिले प्रशासनको मुख्य प्राथमिकता मानवीय क्षति रोक्नु र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा पुर्याउनु हो।




































