धादिङ । रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीको प्रभाव धादिङसम्म पुगेको छ। बाढीको बहाव बढेसँगै गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुल बगाएको छ भने नदी तटीय बस्तीहरू उच्च जोखिममा परेका छन्।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार जिल्लामा अहिलेसम्म ठूलो मानवीय क्षतिको विवरण आएको छैन। तर बाढीको सतह बढ्दै गएकाले गल्छी, मलेखुलगायतका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

जोखिममा रहेका खोला तथा नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीहरू नदी किनारमा परिचालन गरिएका छन्।

बाढीको जोखिम बढेपछि पृथ्वी राजमार्गमा गुड्ने सवारीसाधनलाई विभिन्न सुरक्षित स्थानमा होल्ड गरिएको छ। प्रशासनले तत्काल जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्नसमेत आग्रह गरेको छ।

विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीमा बाढीको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। स्थानीय तहसँग समन्वय गरी सम्भावित जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ।

रसुवाबाट सुरु भएको बाढीको प्रभाव धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा समेत पर्नसक्ने भएकाले प्रशासनले नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।