काठमाडौं । रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीपछि सरकारले उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखेको छ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार तत्काल उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गर्न तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। थप जनशक्ति अन्य जिल्लाबाट समेत प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

त्यसैगरी, प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने तयारी भइरहेको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, स्काउट र रेडक्रसलगायतका संस्थासँग समन्वय गरिरहेको जनाएको छ।

भोटेकोशीको बाढीबाट तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेपछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ।

रसुवामा बाढीले बस्ती, जलविद्युत् आयोजना तथा प्रहरी संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएपछि सरकारले उद्धारलाई तीव्र बनाउन हवाई साधनदेखि जनशक्तिसम्म तयारी अवस्थामा राखेको हो।