रसुवा । रसुवाको टिमुरे बजारमा बुधबार बिहान तिब्बततर्फबाट आएको आकस्मिक ठूलो बाढीले ठूलो क्षति पुर्याएको छ। बिहान करिब सवा ९ बजे भोटेकोशी नदीमा एक्कासि आएको बाढीले टिमुरे बजारका अधिकांश घर तथा संरचना बगाएको प्रारम्भिक जानकारी आएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको छ। उनका अनुसार प्रारम्भिक सूचनाअनुसार बजारमा ५–७ वटा घर मात्र बाँकी रहेको जानकारी आएको छ। यद्यपि, क्षतिको यकिन विवरण भने आइसकेको छैन।
टिमुरेस्थित इलाका प्रहरी कार्यालयमा १५ जना प्रहरी कार्यरत रहेकामा हालसम्म ८ जना मात्र सम्पर्कमा आएका छन्। बाँकी प्रहरीको अवस्था अझै यकिन हुन सकेको छैन। उनीहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए। उनका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।
“बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु। के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन। बुझ्ने प्रयास भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी परियारले बताए।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
भोटेकोशीमा आएको बाढीको प्रभावलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ। त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म जोखिम हुन सक्ने भएकाले नदी आसपासका बस्तीलाई सुरक्षित रहन आग्रह गरिएको छ। बाढीको क्षतिको पूर्ण विवरण तथा सम्पर्कविहीन प्रहरीको अवस्थाबारे थप विवरण आउन बाँकी छ।



































