काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेताहरूसँग भेटघाट गरेका छन् । उनले दुहबी नगरपालिका–३ स्थित प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीको सम्पर्क कार्यालयमा पुगेर जिल्लाका पार्टी नेताहरूसँग भेटवार्ता गरेका हुन् ।

भेटमा रास्वपाको सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति यादव कोइराला, सचिव आनन्द हलुवाई, दुहबी नगर अध्यक्ष मित्र निरौलालगायत करिब ४० जना सहभागी थिए । भेटका क्रममा जिल्लाका स्थानीय विषय तथा जनतासँग सम्बन्धित समस्याबारे छलफल भएको बताइएको छ ।

सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन गर्न तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासो बुझ्न मन्त्री श्रेष्ठ सुनसरी पुगेका थिए । सोही क्रममा उनले रास्वपाका स्थानीय नेताहरूसँग भेटघाट गरेका हुन् ।