काठमाडौं— नेपाली कांग्रेसले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।
कांग्रेसको बागमती प्रदेश संसदीय दलले सूचना जारी गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा पार्टीका सबै सांसदलाई अनिवार्य रूपमा प्रदेशसभा बैठकमा उपस्थित हुन भनेको छ । प्रदेशसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ, जहाँ मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
कांग्रेसले आफ्ना सांसदलाई मतदानका क्रममा तटस्थ नबस्न र मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको छ । यससँगै मुख्यमन्त्री थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न थप चुनौती सामना गर्नुपर्ने देखिएको छ ।






































