काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा क्षेत्रका बासिन्दा फोहोरकै कारण खेतबारी छाडेर गाउँबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेको धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताएका छन् ।
उनका अनुसार ल्यान्डफिल साइटबाट निस्कने लिचड खेतबारीमा पुग्ने, दुर्गन्ध फैलिने, पशुचौपाया मर्ने र रोगको जोखिम बढ्ने समस्या गम्भीर बन्दै गएको छ । चिल–गिद्धले फोहोर बस्ती र खेतसम्म पु¥याउँदा स्थानीयको जनजीवन थप प्रभावित भएको उनको भनाइ छ ।
आचार्यले २०६२÷६३ सालदेखि बञ्चरेडाँडामा फोहोर फाल्न थालिए पनि समस्या समाधानका लागि पटक–पटक भएका सहमति कार्यान्वयन नभएको आरोप लगाए । उनका अनुसार अहिलेसम्म करिब ७६–७७ वटा सम्झौता भइसकेका छन्, तर स्थानीयको समस्या जस्ताको तस्तै छ ।
हाल उपत्यकाका करिब २१ स्थानीय तहको दैनिक तीन सयभन्दा बढी गाडी फोहोर बञ्चरेडाँडा पुग्ने गरेको उनले बताए । फोहोर छुट्याएर व्यवस्थापन गरे लामो समयसम्म प्रयोग गर्न सकिने भनिएको नयाँ क्षेत्र पनि केही वर्षमै भरिन थालेको उनको दाबी छ ।
उनले फोहोर व्यवस्थापनका नाममा बारम्बार बैठक र सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आलोचना गर्दै ‘समाधानका नाममा नाटकबाजी’ भइरहेको टिप्पणी गरेका छन् । अब पुराना सम्झौता खोल्ने, ल्यान्डफिलको वास्तविक अवस्था अध्ययन गर्ने र विज्ञसहित दीर्घकालीन योजना बनाउनुपर्ने उनको माग छ ।
यसैबीच शुक्रबार सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे सरोकारवालासँग छलफल गरेको थियो । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले आवश्यक जग्गा व्यवस्थापनका लागि कानुनी तथा नीतिगत बाटो खोज्ने बताएका थिए ।
छलफलका क्रममा धादिङ–१ की सांसद आशिका तामाङ भने बञ्चरेडाँडाका नागरिकको समस्या बेवास्ता गरिएको भन्दै आक्रोशित हुँदै बैठकबाट बाहिरिएकी थिइन् । उनले समस्या समाधान नभए काठमाडौंको फोहोर रोक्ने चेतावनीसमेत दिएकी छन् ।






































