काठमाडौँ / गृहमन्त्री सुदन गुरुङ नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने कार्यक्रममा सहभागी हुने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममार्फत मन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्। रास्वपा केन्द्रीय कार्यालयका अनुसार कार्यक्रम सोमबार साँझ आयोजना हुनेछ। कार्यक्रममा नागरिकका दैनिक समस्या, सार्वजनिक सेवा तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा नागरिकले आफ्ना समस्या, गुनासा र सुझाव प्रस्तुत गर्नेछन्। त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय नेताबीच समसामयिक तथा नीतिगत विषयमा छलफल हुनेछ। रास्वपाका अनुसार कार्यक्रमको उद्देश्य नागरिकका अपेक्षा र समस्यालाई प्रत्यक्ष रूपमा नेतृत्वसमक्ष पुर्‍याउनुका साथै नीति निर्माणमा नागरिकको सहभागिता बढाउनु हो।