काठमाडौं— काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०३ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना र सिसिटिभीमार्फत ६६ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, रातोबत्ती उल्लंघन गर्ने २६ जना चालकलाई पनि कारबाही गरिएको छ।

यसैगरी, तीव्र गतिमा सवारी चलाउने १४४, हर्न निषेध उल्लंघन गर्ने ३८, लेन क्रस गर्ने ५६, सवारीको अवस्था ठीक नभएका ३४ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १६ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ६५९ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा नियमित रूपमा सवारी जाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।