काठमाडौं / वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटमाथिको बहस भइरहेको हो। श्रेष्ठको तर्फबाट बहस गर्न डेढ दर्जनभन्दा बढी कानुन व्यवसायीले नाम दर्ता गराएका छन्। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र शम्भु थापाले प्रारम्भिक बहस सम्पन्न गरिसकेका छन् भने चिया विश्रामपछि अन्य कानुन व्यवसायीले बहसलाई निरन्तरता दिनेछन्।

बहस सकिएपछि अदालतले श्रेष्ठलाई थुनामै राख्ने वा रिहा गर्ने सम्बन्धमा आदेश जारी गर्ने अपेक्षा गरिएको छ। गत बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ परेका श्रेष्ठको रिहाइको माग गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठसहित जनआस्था साप्ताहिकको कार्यालय र निवासबाट बरामद गरिएका कम्प्युटर, ल्यापटप तथा अन्य डिजिटल उपकरण अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।