काठमाडौं / वैदेशिक रोजगार व्यवसायीले घोषणा गरेको आन्दोलन अन्त्य भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयसँगको वार्तापछि व्यवसायीका माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको हो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीका अनुसार मन्त्रालयले व्यवसायीका मागहरू चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि भोलिदेखि सबै म्यानपावर कम्पनी नियमित रूपमा सञ्चालन हुनेछन्। संघले सेवा शुल्क निर्धारण, वैदेशिक रोजगार विभागले गरेका कारबाही फिर्ता लिनुपर्ने लगायत १५ बुँदे माग अघि सारेको थियो। माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले कार्यालय बन्द गरी वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने घोषणा गरेका थिए।
श्रम मन्त्रालयमा मन्त्री, सचिव तथा संघका अध्यक्ष, सल्लाहकार र पदाधिकारीबीच भएको छलफलमा व्यवसायीले उठाएका मागबारे विस्तृत समीक्षा गरिएको थियो। मन्त्रालयका अनुसार अधिकांश माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित भएकाले संशोधन प्रक्रियामार्फत समाधान गर्ने सहमति भएको छ।
मन्त्रालयले वैदेशिक रोजगारीलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन ऐन तथा नियमावली संशोधनको काम अघि बढिरहेको जनाएको छ। साथै, व्यवसायीले आवश्यक प्रमाणसहित वैदेशिक रोजगार विभागमा आफ्नो विषय प्रस्तुत गर्न सक्ने र विभागले आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको छ।
विभागबाट समाधान हुन नसकेका विषय कानुनी व्यवस्थाअनुसार मन्त्रालयमा पुनरावेदनमार्फत टुंग्याउने विषयमा पनि दुवै पक्षबीच सहमति भएको मन्त्रालयले जनाएको छ।






































