काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले जलविद्युत् उत्पादन तीव्र रूपमा बढिरहेको अवस्थामा त्यसअनुसार उच्च क्षमताको प्रसारण पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भरपर्दो प्रसारण प्रणालीबिना उत्पादित विद्युत्को पूर्ण उपयोग सम्भव नहुने बताए।
मन्त्री श्रेष्ठका अनुसार सरकारले विद्युत्लाई औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा समग्र आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने नीति अवलम्बन गरेको छ। यसका लागि उद्योग, कृषि, सिँचाइ, विद्युतीय सवारीसाधन र सूचना प्रविधिलगायत क्षेत्रमा विद्युत् खपत विस्तार गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था गरिने उनले बताए।
उनले आन्तरिक खपतपछि बाँकी रहने विद्युत् क्षेत्रीय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि अन्तरदेशीय प्रसारण लाइन र आधुनिक ग्रिड प्रणालीको विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
मन्त्री श्रेष्ठले प्रसारण लाइन, सबस्टेसन तथा अन्तरदेशीय विद्युत् पूर्वाधार निर्माणका लागि सार्वजनिक तथा निजी क्षेत्र, विकास साझेदार र वित्तीय संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। साथै, भविष्यको विद्युत् माग र उत्पादनलाई ध्यानमा राखी आधुनिक प्रविधिमा आधारित प्रसारण प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।






































