काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई राष्ट्र निर्माणको प्रमुख शक्ति मान्दै उनीहरूको नेतृत्व, सहभागिता र उद्यमशीलतालाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले युवाको भविष्य, अधिकार र अवसरका विषयमा गम्भीर नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गरे। युवालाई केवल मतदाता समूहका रूपमा होइन, विकास र परिवर्तनका संवाहकका रूपमा राज्यले व्यवहार गर्नुपर्ने उनको भनाइ छ। आङदेम्बेले विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै उपयोग गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी प्रभावकारी नीति ल्याउन आग्रह गरे।

तीनै तहका सरकारले युवाको नेतृत्व क्षमता र सिर्जनशीलतालाई विकासको मूल आधार बनाउनुपर्नेमा उनले जोड दिए। उनले राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका नागरिकको संख्या कुल जनसंख्याको ४२।५६ प्रतिशत रहेको उल्लेख गर्दै यो जनशक्तिलाई देशको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्नुपर्ने बताए। यद्यपि पर्याप्त रोजगारी र अवसरको अभावका कारण दैनिक करिब दुई हजार युवा वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य हुनु चिन्ताजनक रहेको उनको भनाइ छ।

उनले युवाका लागि स्वदेशमै सम्मानजनक रोजगारी र उद्यमका अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए। आङदेम्बेले युवाले सुशासन, पारदर्शिता, रोजगारी र उत्तरदायी शासनको अपेक्षा गरेको उल्लेख गर्दै ती विषयलाई व्यवहारमा उतार्ने नीति आवश्यक रहेको बताए। उनले नेपालमै भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नु नै अन्तर्राष्ट्रिय युवा दिवसको वास्तविक सन्देश हुनुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार युवाको ऊर्जा, सीप र नवप्रवर्तनलाई राष्ट्रिय विकाससँग जोड्न सके मात्रै नेपालले जनसांख्यिक लाभांशको पूर्ण उपयोग गर्न सक्नेछ।