काठमाडौं / लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका—९ भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका—५ घर भएका २० वर्षीय सन्देश यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५—००१ ज ००८६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका बा।प्र।०२—०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषा कमला नगरपालिका—७ घर भएका २० वर्षीय राहुल कुमार मण्डल र सिराहा कल्याणपुर नगरपालिका—६ घर भएका २० वर्षीय अभिषेक कुमार साहलाई समेत पक्राउ गरेको छ । यसैगरी, सिन्धुली, कमलामाई नगरपालिका—९ भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८२० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका—६ बस्ने ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका—१७ बस्ने २४ वर्षीय सागर कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र।०१—००६ ख ३७१२ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





































