जनकपुर— धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा करिब ४० वर्षीय एक पुरुषको शव रहस्यमय अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। घटनास्थलको प्रारम्भिक दृश्य हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागमा गम्भीर चोट पुर्याइएको देखिएको छ।
मन्दिर परिसरमा जताततै रगतका छिटा देखिएका छन्। स्थानीयवासीका अनुसार मृतक केही समयदेखि सोही मन्दिरमा बस्दै आएका थिए। मन्दिरमै बस्दै आएका व्यक्तिको यसरी शव भेटिएपछि घटनाले थप रहस्य जन्माएको छ।
घटनाको सूचना पाएलगत्तै धनुषा प्रहरी घटनास्थलमा पुगेको छ। प्रहरीले घटनास्थल सुरक्षित राखेर घटनाको प्रकृति, मृतकको पहिचान र सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाएको जनाएको छ।






































