काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्र र पर्साको वीरगञ्ज बस्दै आएका बाराका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीका अनुसार मिश्रलाई काठमाडौंको ताहाचलबाट र हाकिमलाई वीरगञ्जबाट पक्राउ गरिएको हो।
गत शुक्रबार सञ्चालन भएको व्यवस्थापन संकायतर्फको ‘संगठनात्मक व्यवहार’ विषयको प्रश्नपत्र परीक्षा अघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि यही प्रकरणमा साउन १० गते कैलालीका ३३ वर्षीय सन्दीप सिंह पक्राउ परिसकेका थिए। प्रहरी अनुसन्धानले उनीहरू एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिकमा संलग्न रहेको देखाएको छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।






































