काठमाडौं / नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो । निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ ।

विभागका अनुसार वि.सं. २०७६/०३/०२ र २०७६/१२/२४ लगायतका विभिन्न मितिहरूमा राजपत्रमा सूचना प्रकाशन गरी यस्ता वस्तुहरूको पैठारीमा शर्त वा निश्चित अवधि तोकी वा पूर्ण रूपमा मनाही गरिएको छ । यद्यपि, सरकारले बन्देज लगाएका यस्ता वस्तुहरू अहिले पनि बजारमा भौतिक रूपमा मात्र नभई विभिन्न डिजिटल प्ल्याटफर्महरू अनलाइन माध्यम मार्फत समेत निर्बाध रूपमा बिक्री वितरण भइरहेको गुनासो र उजुरीहरू प्राप्त भएको विभागले जनाएको छ ।

यसरी प्रतिबन्धित वस्तुहरूको व्यापार भइरहेको प्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ । विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व र शर्त बन्देजहरूको पूर्ण पालना गरी मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।

यदि कानुनविपरीतका कार्यहरू गरेको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ र अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।