काठमाडौं / नेपालमा आत्महत्याका घटनामा निरन्तर वृद्धि भइरहेका बेला यसको पछाडि आर्थिक, सामाजिक, पारिवारिक र मानसिक स्वास्थ्यसँग जोडिएका विभिन्न कारण रहेको विज्ञहरूले बताएका छन्।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार आत्महत्या भनेको व्यक्तिले जानाजानी आफ्नै जीवन समाप्त गर्ने कार्य हो। नेपालमा बेरोजगारी, आर्थिक अभाव, पारिवारिक विवाद, ऋणको बोझ, मानसिक तनाव, डिप्रेसन तथा बढ्दो एक्लोपन आत्महत्याका प्रमुख कारणका रूपमा देखिएका छन्।

विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले प्रत्यक्ष सामाजिक सम्बन्ध कमजोर बनाउँदै मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको छ। आर्थिक मन्दी र व्यापार–व्यवसायमा भएको क्षतिले पनि धेरैलाई निराशाको अवस्थामा पुर्‍याइरहेको छ।

आत्मदाह न्यूनीकरणका लागि सरकारसँगै समाजको सक्रिय भूमिका आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। समुदायस्तरमा जनचेतना अभिवृद्धि, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा विस्तार, विद्यालय तहदेखि मनोवैज्ञानिक शिक्षा समावेश तथा रोजगारी सिर्जनामा जोड दिनुपर्ने उनीहरूको सुझाव छ।

यसैबीच, बढ्दो आत्महत्याका घटनालाई ध्यानमा राख्दै सरकारले राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन सञ्चालनमा ल्याएको छ। मानसिक तनाव वा आत्महत्याको सोच आएका व्यक्तिले हेल्पलाइनमार्फत निःशुल्क मनोवैज्ञानिक परामर्श लिन सक्ने व्यवस्था गरिएको छ।