काठमाडौं । सेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका सरोकारवालासँग उच्चस्तरीय छलफल गरेका छन्। छलफलमा उठेका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

सिंहदरबारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठनभन्दा पनि सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्ने धारणा राखेका थिए। व्यवसायीका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन सरकार गम्भीर रहेको सन्देश दिएका छन्।

छलफलमा सहभागीहरूले लगानीकर्ताको मनोबल उकास्ने नीति, कर प्रणालीमा रहेको अस्पष्टता हटाउने, घाटा समायोजनपछि मात्रै कर लिने व्यवस्था गर्ने, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियम बनाउने तथा बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने सुझाव दिएका थिए।

यस्तै नेपाल स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउने, १० कित्ते आईपीओ नीतिको पुनरावलोकन गर्ने र योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी बनाउने विषय पनि छलफलमा उठाइएको छ।

बैठकमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल तथा पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरू सहभागी थिए।