काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाले गठन भएको करिब नौ महिनापछि धनकुटा जिल्लामा पार्टीको संगठनात्मक एकता टुंग्याएको छ।
जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रममार्फत २५१ सदस्यीय जिल्ला समिति घोषणा गर्दै पार्टीले स्थानीय तहसम्म संगठन विस्तारको अभियानलाई अघि बढाएको हो। नवगठित समितिको संयोजकमा कुसुम कुमारी श्रेष्ठ चयन भएकी छन् भने डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला सहसंयोजक बनेका छन्। जिल्ला समितिलाई पूर्णता दिएसँगै लामो समयदेखि रोकिएको संगठनात्मक एकता प्रक्रिया सम्पन्न भएको पार्टीले जनाएको छ।
अब स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण र जनपरिचालनलाई तीव्र बनाइने संयोजक श्रेष्ठले बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले अब कोशी प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नुपर्ने दाबी गरे। उनले कांग्रेस र एमालेले नेतृत्व गरिसकेको उल्लेख गर्दै प्रदेशमा नयाँ राजनीतिक समीकरणको आवश्यकता औंल्याए।
राईले संविधानले दिएको अधिकार कार्यान्वयनमा प्रदेश र स्थानीय तहलाई पर्याप्त भूमिका नदिइएको आरोप लगाउँदै राज्यसत्ताको अत्यधिक केन्द्रीकरण भएको बताए। कार्यक्रममा प्रदेश सह-इन्चार्ज पर्शुराम बस्नेत, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेललगायत नेताहरूको सहभागिता रहेको थियो।
नवगठित जिल्ला समितिले आगामी दिनमा संगठन विस्तार र जनआधारित कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।






































