काठमाडौं—  लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक हिलाम्मे भएका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरेको छ भने केही स्थानमा रातिको समयमा मात्रै सवारी सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी आवागमन सुचारु रहनेछ । अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहने जनाइएको छ ।

यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा वर्षाका कारण सडक जोखिमपूर्ण बनेपछि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यो निर्णय पनि अर्को सूचना जारी नभएसम्म लागू रहने प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे बनेपछि उक्त सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि सो स्थानमा वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पनि ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक अवरोधको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।