रुपन्देही— नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका नक्कली नोट, नोट छाप्ने उपकरण तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलमा छापा मार्ने क्रममा गिरोहका सदस्यहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नोट बरामद गरिएको छ, जसको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको छ।

पक्राउ पर्नेमा बुटवल–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी ९कृष्ण०, कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का संजय थारु, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडीस्थित भक्तिनगर थाना निवासी ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज, लेमिनेसन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

अनुसन्धानका क्रममा गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाका मुख्य योजनाकार मानिएका अर्का एक भारतीय नागरिकको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा नक्कली नोट छाप्ने कलर मेसिन, नक्कली मुद्रा तथा अन्य उपकरण बरामद गरिएको हो।

प्रहरीले पक्राउ परेका सबैविरुद्ध मुद्रा सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।