काठमाडौं— नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्ने समाचारको उनको सचिवालयले खण्डन गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा प्रसारित ‘देउवा लडेर हात भाँचिएको’ भन्ने दाबी पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको हो।
सचिवालयका अनुसार देउवा न त लडेका छन्, न त उनको हात नै भाँचिएको छ। आधिकारिक पुष्टि नै नभएका सूचना सार्वजनिक गरेर भ्रम फैलाउने प्रयासप्रति सचिवालयले गम्भीर असन्तुष्टि जनाएको छ।
विज्ञप्तिमा आधारहीन समाचार र अफवाहले समाजमा अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले यस्ता सामग्री प्रचार–प्रसार नगर्न आग्रह गरिएको छ। साथै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना सार्वजनिक वा साझा गर्नुअघि आधिकारिक स्रोतबाट त्यसको सत्यता पुष्टि गर्न सचिवालयले अनुरोध गरेको छ।







































