काठमाडौं— मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा काठमाडौं महानगरपालिकाले सडकबाट उद्धार गरेका असहाय र घरबारविहीन व्यक्तिको स्वास्थ्योपचारमा सहयोग पुर्याउने उद्देश्यले आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरिने उक्त सहयोगमध्ये २७ लाख रुपैयाँ बालबालिकाको शिक्षा र बाँकी १३ लाख रुपैयाँ उद्धार गरिएका व्यक्तिको स्वास्थ्योपचारमा खर्च गरिने जनाइएको छ।
यसका लागि काठमाडौं महानगरपालिका, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस र मानव सेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतामा महानगरपालिकाको सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौला, आइडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गी तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै आइडीपीले पहिलो किस्ताबापत २१ लाख २० हजार रुपैयाँ उपलब्ध गराएको छ। यसमध्ये १० लाख ८० हजार रुपैयाँ शिक्षा कार्यक्रम र १० लाख ४० हजार रुपैयाँ स्वास्थ्योपचार कार्यक्रमका लागि हस्तान्तरण गरिएको हो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मानवीय सेवाका क्षेत्रमा निजी क्षेत्रको सहकार्यले सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने बताइन्। यस्ता सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
आइडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गीले कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनपछि आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले प्राप्त सहयोग निर्धारित उद्देश्यअनुसार पारदर्शी र उत्तरदायी ढंगले खर्च गरिने बताए।
सम्झौताअनुसार उपलब्ध रकम आश्रममा रहेका बालबालिकाको विद्यालय शुल्क, पोशाक, शैक्षिक सामग्री तथा अन्य आवश्यक शैक्षिक व्यवस्थापनमा खर्च गरिनेछ। त्यस्तै, काठमाडौँका सडकबाट उद्धार गरिएका असहाय तथा घरबारविहीन व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्योपचार, औषधि तथा आवश्यक उपचार सेवामा पनि उक्त सहयोग उपयोग गरिनेछ। कार्यक्रमको कार्यान्वयन मानव सेवा आश्रमले गर्नेछ भने यसको अनुगमन काठमाडौं महानगरपालिकाले गर्ने जनाइएको छ।





































