कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर बजार शुक्रबार पूर्ण रूपमा बन्द गरिएको छ। प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि स्थानीयले त्यसको विरोध गर्दै बजारसँगै सार्वजनिक यातायातसमेत ठप्प पारेका हुन्।स्थानीयको दाबी अनुसार सामान्य व्यावसायिक विवादलाई राजनीतिक रंग दिँदै निर्वाचित जनप्रतिनिधिलाई फसाउने प्रयास गरिएको छ। यही कारण उनीहरूले बजार बन्द गरी विरोध प्रदर्शन गरेका हुन्।

एकै घटनाबाट दुवै पक्षविरुद्ध मुद्दा  

विवादको केन्द्रमा रहेका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका सञ्चालक रितेश शर्माले सांसद शाह र मेयर शाहविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिएका थिए। त्यसैबीच शाह कम्प्लेक्समा तोडफोड र हुलदंगा मच्चाएको आरोपमा शर्मा र उनका सहयोगीहरूविरुद्ध पनि आपराधिक उपद्रवको मुद्दा दर्ता भएपछि दुवै पक्षमाथि कानुनी प्रक्रिया अघि बढेको छ।प्रहरीले शर्मा सहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि उनीहरू हाल सम्पर्कविहीन रहेको जनाएको छ।

क्यासिनो विवाददेखि अदालतसम्म

प्राप्त जानकारी अनुसार करिब एक महिनाअघि लुम्बिनी ग्रीन रिसोर्टको क्यासिनोमा प्रवेश गर्ने विषयमा भएको विवादपछि तनाव सुरु भएको थियो। त्यसको केही समयपछि कृष्णनगरस्थित शाह कम्प्लेक्समा रहेको क्यासिनो सम्पर्क कार्यालयमा पुगेर कर्मचारीलाई बाहिर निकाल्ने, तालाबन्दी गर्ने तथा आगजनीको धम्की दिने घटना भएको आरोप छ।त्यही घटनापछि विवाद थप चर्किँदै दुवै पक्षले एकअर्काविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। अहिले सोही प्रकरण कानुनी संघर्षमा परिणत भएको छ।

राजनीतिक जोडघटाउको चर्चा

स्थानीय तहमा यो घटनालाई केवल कानुनी मुद्दा नभई राजनीतिक प्रतिस्पर्धासँग पनि जोडेर हेरिएको छ। स्थानीय स्रोतका अनुसार रितेश शर्मा पछिल्लो समय सत्तारुढ रास्वपासँग निकट रहेको चर्चा छ। गृहमन्त्रीसँगको उनको तस्वीर सार्वजनिक भएपछि घटनाले थप राजनीतिक चर्चा पाएको छ।

यद्यपि प्रहरी भने दुवै पक्षका उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको र कसैलाई पनि राजनीतिक आधारमा नहेरेको बताउँदै आएको छ।

तनाव कायमै

पक्राउ पुर्जी जारी भएसँगै कृष्णनगरको जनजीवन प्रभावित बनेको छ। बजार बन्द, यातायात अवरुद्ध र स्थानीयको प्रदर्शनका कारण सुरक्षा सतर्कता बढाइएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।