काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डबारे नयाँ विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले तत्कालीन युवराज दीपेन्द्र शाहले नै दरबार हत्याकाण्ड गराएको भन्ने स्थापित आधिकारिक कथालाई अस्वीकार गर्दै दीपेन्द्रले दरबार हत्याकाण्ड गराएका होइनन् भन्ने दाबी गरेका हुन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट र मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर ूपहिल्यै तयार गरिएको कथाू विश्वभर फैलाइएको दाबी गरे। उनका अनुसार घटनाको वास्तविकता अझै सार्वजनिक भएको छैन र विश्वका ठूला सञ्चारमाध्यमले समेत स्वतन्त्र अनुसन्धान नगरी एउटै कथालाई आधार बनाएर समाचार सम्प्रेषण गरेका थिए।
ओलीको यो अभिव्यक्ति गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेलगत्तै आएको हो, जसले घटनाबारे नयाँ राजनीतिक बहस सुरु गराएको छ।
यही कार्यक्रममा ओलीले वर्तमान सरकारमाथि लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप पनि लगाए। उनले कीर्तिपुरमा जेनजी अभियन्ता माजिद अन्सारीमाथि भएको प्रहरी व्यवहार, विराटनगरको प्रदर्शन र सञ्चारमाध्यमका कार्यालयअघि सवारीसाधन तेर्स्याइएको घटनालाई जोड्दै सरकार फासिवादी प्रवृत्तितर्फ उन्मुख भएको दाबी गरे।






































