काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा सुरु भएको तीनदिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व राजनीतिक अवस्थाबीच एसियाले आफ्नो रणनीतिक सन्तुलन जोगाउँदै समाजवादको दिशामा अघि बढ्नुपर्ने धारणा राखेका छन्।

इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा भएको सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले विश्व महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धा र दबाबका बीच असंलग्न परराष्ट्र नीति अझ सान्दर्भिक बनेको उल्लेख गरे। उनले एसियाली कम्युनिस्ट आन्दोलनका उपलब्धि, चुनौती र अनुभवबाट सिकेर सामाजिक न्याय र समानतामा आधारित विकासको मोडेल निर्माण गर्नुपर्नेमा जोड दिए।

सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा.  दम्मिका पाताबेन्दीले आईएमएफका ऋण तथा त्यससँग जोडिएका कडा सर्तहरूले विकासशील मुलुकमाथि पारेको प्रभावबारे धारणा राख्दै जनमुखी आर्थिक विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याए। विश्वप्रसिद्ध मार्क्सवादी चिन्तक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, ऋण संकट र उग्र दक्षिणपन्थी शक्तिको उदयलाई एउटै वैश्विक शक्ति संरचनासँग जोडेर विश्लेषण प्रस्तुत गरेका थिए।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एसियाली तथा अन्तर्राष्ट्रिय वामपन्थी आन्दोलन, आर्थिक संकट, भू–राजनीतिक चुनौती र वैकल्पिक विकास मोडेलका विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ।

सम्मेलनका क्रममा प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट नेतासँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नेछन्। उनले सम्मेलनको साइडलाइनमा क्युबा, भेनेजुएला, ब्राजिललगायत देशका वामपन्थी नेताहरूसँग भेट गरी समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे विचार आदान–प्रदान पनि गरेका छन्।

यस्तै, सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा प्रस्तुति दिएका थिए।