काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारी कर्मचारीको तलब पनि बढ्ने भएको छ। सरकारले घोषणा गरेको १० प्रतिशत तलब वृद्धि र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता शुक्रबारदेखि लागू हुँदैछ। यससँगै निजामती कर्मचारी, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीको मासिक पारिश्रमिकमा उल्लेख्य वृद्धि हुनेछ। तलबसँगै प्रोत्साहन भत्ता थपिएपछि धेरै कर्मचारीको कुल आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको दाबी छ।

सबैभन्दा तल्लो तहका कार्यालय सहायकको आधारभूत तलब २७ हजार ६११ रुपैयाँबाट बढेर ३० हजार ३७२ रुपैयाँ पुगेको छ। यसबाहेक ५ हजार रुपैयाँ महँगी भत्ता र करिब ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि थपिनेछ।

यता, मुख्यसचिवको आधारभूत तलब पनि बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ। महँगी र प्रोत्साहन भत्ता जोडिँदा उनको मासिक पारिश्रमिक झन्डै ९८ हजार ४२५ रुपैयाँ पुग्नेछ। करिब तीन वर्षपछि लागू भएको यो तलबवृद्धिले देशभरका लाखौं सरकारी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।