धनगढी । बाजुरा–हुम्ला सीमा विवादसँग जोडिएको लाम्पाटा घटनामा जिल्ला अदालत बाजुराले पक्राउ परेका २१ प्रतिवादीमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। आठ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने तीन जना साधारण तारेखमा छुटेका छन्।
गत जेठ ३ गते अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा स्थानीय जनप्रतिनिधि, कर्मचारी र प्रहरीमाथि आक्रमण तथा बन्धक बनाएको आरोपमा मुद्दा दर्ता भएको थियो। घटनामा एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
उता, घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले गठन गरेको छानबिन समिति र सीमा विवाद अध्ययन गर्न बनेको सरकारी उच्चस्तरीय समितिले अध्ययन पूरा गरे पनि दुवै प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। सीमा विवादको कानुनी प्रक्रिया अघि बढे पनि प्रतिवेदन सार्वजनिक नहुँदा थप प्रश्न उठ्न थालेका छन्।






































