काठमाडौं । अभिनेत्री काजल कर्णले चलचित्र (चिरञ्जीवि भवः) को छायांकन सेटमा आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्। उनले घटनामा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि निष्पक्ष छानबिन गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता सुनिश्चित गर्न माग गरेकी छन्।
कलाकार संघका अध्यक्ष उत्तम केसीका अनुसार उजुरी प्राप्त भइसकेको छ र दुवै पक्षलाई छलफलका लागि बोलाइने तयारी भइरहेको छ। आवश्यक परे केही दिन छायांकन रोक्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन्।
यता, प्रतिनिधिसभामा पनि घटनाबारे आवाज उठेको छ। कांग्रेस सांसद निनु कुमारी कर्णले छानबिनको माग गरेकी छन्। भने फिल्मका निर्देशक दीपक आचार्य (काकु) ले अभिनेत्रीले लगाएको आरोप अस्वीकार गर्दै त्यसमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।






































