काठमाडौं— कालीकोटमा पहिरो खस्दा पानीघट्ट पुरिएर दुई जनाको मृत्यु भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा स्थानीय दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धाँमीगाउँका करिब ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन्।

प्रहरीका अनुसार उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए। सोही क्रममा घट्टमा बसिरहेका बेला माथिबाट अचानक पहिरो खस्दा उनीहरू पुरिएका थिए। घटनास्थलमै उनीहरूको मृत्यु भएको जनाइएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मेहलमुडीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी बाहिर निकाले पनि उनीहरू जीवित नरहेको पुष्टि भएको थियो।

पहिरोका कारण पानीघट्टको आधा भागसमेत क्षतिग्रस्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।