काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणले अब कानुनी मोड लिएको छ। घटनाको सत्यतथ्य उजागर गर्न परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया सुरु गरेसँगै औपचारिक अनुसन्धान अगाडि बढ्ने भएको हो।

गणेश नेपालीका परिवारका सदस्यहरू सोमबार प्रहरी वृत्त कालीमाटी पुगेर जाहेरी दर्ताको प्रक्रिया अघि बढाएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कुनै पनि अप्राकृतिक मृत्युमा कानुनी रूपमा जाहेरी दर्ता गरिने व्यवस्था भएकाले त्यसैअनुसार अनुसन्धान अघि बढाइनेछ।

उनका अनुसार जाहेरीपछि पोस्टमार्टम, आवश्यक प्रमाण संकलन, घटनाको विस्तृत अनुसन्धान तथा कानुनी आधार देखिए मुद्दा दर्तासम्मका प्रक्रिया अघि बढाइनेछन्।

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि भएको विवादका क्रममा गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनापछि प्रहरीले सम्बन्धित महानगर प्रहरीका कर्मचारी तथा प्रत्यक्षदर्शीसँग सोधपुछ गरी बयान लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ।

यस घटनाको निष्पक्ष छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।


यसअघि आइतबार पीडित परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो। अब जाहेरी दर्तासँगै घटनाको कानुनी र अनुसन्धान प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।