सर्लाही । चारपटकको सरकारी सहमति कार्यान्वयन नभएको भन्दै मिटरब्याज पीडितहरूको जनकपुर–काठमाडौं पदयात्रा चौथो दिनमा प्रवेश गरेको छ।
असार २५ गते जनकपुरबाट सुरु भएको पैदल न्याय मार्च अहिले सर्लाहीको लालबन्दीबाट काठमाडौंतर्फ अघि बढिरहेको छ। सहभागीहरूले हरेक दिन करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै सरकारमाथि दबाब बढाइरहेका छन्।
‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ जस्ता नारासहित सयौँ पीडित न्याय र अधिकारको माग गर्दै सडकमा उत्रिएका छन्।
सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेकाले न्याय नपाएसम्म आन्दोलन नरोकिने र करिब एक साताभित्र काठमाडौं पुगेर थप दबाबमूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।






































