काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सांसद पार्वती विकले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सरकारको सय दिनको उपलब्धि सीमित हुँदै गएको आरोप लगाइन् । उनले गरिब तथा विपन्न नागरिकहरूले आफ्ना समस्या समाधान नभएपछि चरम कदम चाल्नुपर्ने अवस्था आएको बताइन् ।
‘सरकारको सय दिन सय दिनमै सीमित हुँदैछ । गणेश नेपालीजस्ता गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।
उनले नेपाली जनता नै देशका सबैभन्दा सार्वभौम अधिकार सम्पन्न शक्ति भएको उल्लेख गर्दै जनताको धैर्यको परीक्षा नलिन सरकारलाई चेतावनी दिइन् ।
‘यो देशमा सबैभन्दा सार्वभौम अधिकार सम्पन्न नेपाली जनता हुन् । हिजो पनि वीर बलभद्र कुँवर, भक्ति थापाजस्ता वीरहरूको अगुवाइमा यो देश बचाएका हुन् । आज पनि नेपाली जनता सार्वभौम छन्,’ उनले भनिन् ।
सांसद विकले सरकारमा घमण्ड र अराजकता बढ्दै गए जनताले संविधानले दिएको अधिकार प्रयोग गर्न सक्ने चेतावनी दिइन् । उनले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् ।
‘गणेश नेपालीको घटना पश्चात भएको मृत्युको खबरले निकै दुःखी बनाएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नाताले उहाँ मेरो कतै आफन्त पनि पर्नुहुन्छ,’ उनले भनिन् ।
यसैबीच, गोकर्णेश्वर क्षेत्रमा लोड गरिएको गाडीमा ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु भएको घटनाप्रति पनि सांसद विकले सरकारको ध्यानाकर्षण गराइन् ।
उनले उक्त घटना गम्भीर लापरवाहीका कारण भएको भन्दै सम्बन्धित पक्षमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरिन् ।






































