काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ। शरीरको करिब ६० प्रतिशत भाग जलेका उनलाई वीर अस्पतालमा सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। प्रहरीले उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ। अस्पताल प्रशासनबाट भने औपचारिक पुष्टि हुन बाँकी छ।
चिकित्सकका अनुसार अनुहार, टाउको, घाँटीलगायत शरीरका संवेदनशील भागमा गम्भीर जलन भएकाले उनको अवस्था सुरुदेखि नै अत्यन्त जटिल थियो। २१ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीले उपचार गरे पनि उनलाई बचाउन सम्भव भएन। गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनाको कारण र पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






































