चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर हालै भरतपुर–२३ मा आमा–छोराको ज्यान लिएको जंगली हात्ती ‘ध्रुवे’ दुई दिनदेखि सम्पर्कविहीन बनेको छ। घाँटीमा जडान गरिएको जीपीएस रेडियो कलरले समेत सिग्नल नदिएपछि निकुञ्जको टोली र नेपाली सेनाले खोजी तीव्र बनाए पनि ध्रुवेको अवस्थाबारे कुनै जानकारी मिल्न सकेको छैन।

निकुञ्जले ध्रुवेलाई बेहोस बनाएर नयाँ स्याटलाइट रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने तयारी गरिसकेको भए पनि हात्ती फेला नपर्दा योजना रोकिएको छ। अधिकारीहरूका अनुसार ध्रुवे निकै चनाखो भएकाले खतरा महसुस हुनासाथ जंगलको गहिराइमा लुक्ने गर्छ।

मानिसमाथि आक्रमणका कारण कुख्यात ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाइसकेका छन्। दुई वर्षअघि पनि यसको दाह्रा काटिएको थियो, तर त्यसपछि पनि मानवीय क्षति रोकिएको छैन। यही कारण दाह्रा काट्ने उपाय मात्रै पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न फेरि उठ्न थालेको छ।